पूर्व राजाका ज्वाई माओवादी निकट पार्टीमा :

काठमाडौं, साउन २०- पूर्व राजा ज्ञानेन्द्रका छोरी ज्वाई राजबहादुर सिंह माओवादी निकट नेपाली जनता दलमा
प्रवेश गरेका छन्। संविधानसभामा दुई सभासद् रहेको दलमा दुई साताअघि साधारण सदस्यका रुपमा प्रवेश गरेका सिंहलाई सचिवालयले बुधबार केन्द्रीय सदस्य बनाएको छ।
पार्टि अध्यक्ष हरिचरण साहले सिंह साउन ३ गते दलको सदस्य बनेको बताएका छन्। केन्द्रीय कार्यालय अनामनगरमा उपस्थित भई सिंह सहित चार जाना दलमा प्रवेश गरेका थिए।

‘पार्टीको सदस्यता रसिद लिएको भोलिपल्टै मैले सिंहलाई केन्द्रिय सदस्य बनाउने प्रस्ताव गरे,' नागरिकस"ग कुरा गर्दै साहले भने, ‘बुधबारको पार्टि केन्द्रीय सचिवालय बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ।'

सिंहको प्रवेशेपछिका तीनै चरणको प्रधानमन्त्री निर्वाचनमा दलका सभासद्ले माओवादी अध्यक्ष पुष्पकमल दहाललाई मत दिदै आएका छन्। सिंह आफ्ना व्यवसायिक साझेदार अजय सुमार्गिसहित दहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सक्रिय रहेको समाचार भारतिय छापाले प्राथमिकता साथ प्रकाशित गरिरहेका छन्।

सबैभन्दा ठूलो दल माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने पार्टि निर्णय भएकाले चौथो चरणमा पनि दहाललाई नै सघाउने साहले बताएका छन्। ‘राष्ट्रपति निर्वाचन, माओवादी सरकारमा जाँदा, विपक्षिमा रहँदा र अहिलेपनि हामी उसकै कित्तामा उभिएका छौ,' उनले भने, ‘माओवादीलाई प्रजातान्त्रीक र अहिंसात्मक राजनीतिमा ल्याउन हामीले साथ दिइरहेका हौं।'

राजपरिवारका सदस्य जनताको हैसियतमा दलमा प्रवेश गर्न तत्पर भएकाले स्वागत गरेको साहले बताएका छन्। पार्टी सिद्वान्त र घोषणापत्रमा सहमत जोकोहिलाई दलको ढोका खुला रहेको उनले बताए।

‘संघियता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता पार्टिको एजेण्डामा आकर्षित भएर सिंह प्रवेश गर्नुभएको हो,' साहले भने, ‘हामी साच्चिकै सबै जनताको दल बनाउन उहाँहरुलाई लिएका हौं।' ससुरा ज्ञानेन्द्र साह हिन्दु राज्य स्थापनाको अभियानमा सक्रिय रहेको बेला ज्वाई सिंहले धर्मनिरपेक्षताको पक्षमा रहेको पार्टिमा प्रवेश गरेका छन्।

केहि दिनमा नै पार्टिले सिंहलाई थप भूमिका दिने उनले बताएका छन्। ‘उहाँलाई पार्टिले महत्वपूर्ण जिम्मेवारी दिन खोज्दैछ, त्यसबारे टुंगो लागेपछि भनौंला,' साहले भने। शुक्रबार माओवादी उम्मेदवारलाई जिताउन सके त्यसलगत्तै पार्टिले सरकारमा जाने/नजानेबारे निर्णय लिने उनले बताए।

सिंहसँगै सल्यानका दिपक चन्द, डडेलधुराका विक्रमबहादुर बम र काठमाडौंका विजय श्रेष्ठ दलमा प्रवेश गरेका छन्। साहका अनुसार चन्द नेपाल विद्यार्थि संघमा जिल्लास्तरिय नेता, बम डडेलधुरामा नेपाल विकास पार्टिका तर्फबाट संविधानसभा निर्वाचनका उम्मेदवार र श्रेष्ठ कांग्रेस निकट यातायात मजदुर संघ काठमाडौंका अध्यक्ष हुन्।

source:nagarik