गत वर्ष हवाईमार्गबाट शिक्षा खोज्दै बिदेसिने युवाहरूसँगै कम्तीमा २० अर्ब रुपैयाँ
बाहिरिएको छ । पछिल्लो २ वर्षमा बिदेसिने विद्यार्थी र बाहिरिने रकम निक्कै बढेको छ ।
विद्यार्थीहरू बिदेसिनु र त्यससँगै बाहिरिएको रकम केवल आर्थिक क्षयीकरण मात्रै होइन । यसले नेपाली सामाजिक र राजनीतिक अवस्थालाई पनि अप्रत्यक्ष रूपमा प्रतिबिम्बित गरिरहेको छ । गत वर्ष झन्डै ४२ हजार विद्यार्थी शिक्षाका लागि बिदेसिए जसमध्ये २७ हजार भारतबाहेकका देशमा गएका छन् । सामाजिक सम्मानसँगै राजनीतिक दुरवस्थाले पनि युवामा विदेशमोह पलाउँदै गएको छ । २०६२/६३ को आन्दोलनपछि पनि भविष्य सुनिश्चित हुन सक्ने आधार नदेखिएपछि युवाहरूमा उच्च निराशा बढेको छ ।
बन्दहडतालले नेपालमा पढाइको वातावरण नभएको सबैले बुझेकै विषय हो । सहरी क्षेत्रका हुनेखाने मात्रै होइन सन्ततिको भविष्य सुनिश्चित गर्न खोज्नेहरू ऋण काडेरै भए पनि विदेश पठाइरहेका छन् । घरजग्गा बेचेर पढ्न पठाउनेहरूको संख्या बाक्लै छ । अमेरिका, अस्ट्रेलिया, बेलायत वा अन्य युरोपेली राष्ट्रमा शिक्षा लिन जानु नेपाली समाजमा प्रतिष्ठा हुन थालेको छ । केही बाध्यता र केही रहरले बिदेसिन बाध्य युवाका परिवारले भने यसलाई गर्वका रूपमा हेर्न थालेका छन् । सहरी क्षेत्रमा विदेशमा आपmनो सन्तान पढ्न जान नसके बाबुआमाले पनि हीनताबोध गर्ने अवस्था देखिन्छ । यो सबै मुलुकमा आर्थिक सम्वृद्धि हुन नसक्दा बढेको निराशाको उपज हो ।
यसरी बिदेसिने युवा तुलनात्मक रूपमा नेपालमा राम्रो पढ्ने अवसर पाउनेहरू हुन् । उनीहरूको विदेश पलायनलाई सहजै लिन सकिँदैन । एकातर्फ उनीहरूमाथि सरकार र अभिभावकले अरूभन्दा ठूलो लगानी गरेका हुन्छन् भने अर्कोतर्फ नेपाललाई आवश्यक जनशक्ति बिदेसिँदै छ । विकसित देशमा गएका अधिकांश युवा स्वदेश र्फकंदैनन् । त्यहाँबाट आउने रेमिट्यान्सको हिस्सा पनि कम छ । यो निराशाजनक अवस्थाबाट पनि हाम्रो राजनीतिक नेतृत्वले सुझबुझ राख्दै गम्भीर हुने हो भने अझै धेरै बिगि्रसकेको छैन । अवसरको खोजी गर्नु मानवीय स्वभाव हो । १० वर्ष अघिसम्म भारतबाट पनि बिदेसिने मात्रै थिए तर अब बिस्तारै विदेशमा पढेका युवाहरू त्यहाँ र्फकंदै छन् । भारतको उच्च आर्थिक विकासले युवाहरूलाई तान्दै छ । राजनीतिक स्थिरताले त्यहाँ अवसर एकपछि अर्को खुल्दै छ । यसको अर्थ के हो भने हामीलाई पनि चाहिएको राजनीतिक स्थिरता हो । प्रधानमन्त्री चयनमा भइरहेको नौटंकीले युवाहरूलाई निरुत्साहित बनाएको छ । हामीले नै चुनेका युवाहरूको व्यक्तिगत स्वार्थका अगाडि सबै निरीह बनिरहेका छन् । नेपाली भूबनोटले त यहाँ विदेशी विद्यार्थी सजिलै आकृष्ट गर्न सकिन्छ तर उल्टो भइरहेको छ । यसरी एकपछि अर्को गर्दै पैसा र बुद्धि गुमाउँदै जाँदा यही सम्भावना खोज्नेहरूमा निराशा बढ्नेछ जसले नेताहरूको राजनीतिक आधार पनि कमजोर बनाउनेछ । त्यसकारण राजनीतिक स्थायित्व कायम गर्न नेतृत्व संवेदनशील हुनु आवश्यक छ ।
source:kantipur