हनिमुन मनाउन स्विट्जरल्यान्डबाट साइकलमा :

काभ्रे, श्रावण २७  -  हनिमुन जस्तो नितान्त व्यक्तिगत मामिलालाई उनीहरू सार्वजनिक प्रयोजनमा उपयोग गर्न चाहन्थे । त्यो पनि जोखिम मोलेर । तर
यसको विश्वास उनीहरूका चिनारुलाई थिएन । त्यसलाई उनीहरूले चुनौतीका रूपमा लिए र त्यसको पटाक्षेप उनीहरूले अपेक्षा गरेझैं रह्यो ।
स्विजरल्यान्डका ५६ वर्षे मारियो र ४६ वर्षे मोनिकालाई धन्यवाद । उनीहरूले जोखिमपूर्ण साइकलायात्रा गरी यहाँ आउन्जेल जोहो गरेको र जुटाएको केही रकम विपन्न नेपालीको उपचारमा प्रदान गरे ।
उनीहरू साढे ३ महिनाअघि स्विजरल्यान्डको चुग गाउँमा वैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरूले आफ्नो हनिमुनबारे धेरैलाई जानकारी गराउन चाहन्थे । त्यस क्रममा स्विजरल्यान्डदेखि सिन्धुपाल्चोकको बाहुनेपाटी गाविसमा रहेको धुलिखेल अस्पतालको स्वास्थ्य केन्द्रसम्म साइकलयात्रा गर्ने अठोट गरे । विवाहलगत्तै थालिएको यात्राको उद्देश्य उक्त केन्द्रलाई सहयोग गर्नु थियो । 
'साइकलयात्रा गरेर हामी हनिमुन मनाउन नेपाल जान्छौं भन्दा कसैले विश्वास गरेका थिएनन्,' मोनिकाले भनिन्, 'तर हामी साइकलबाटै नेपाल पुग्ने र गरिब बिरामीलाई सहयोग गर्ने लक्ष्य लिएर हिँड्यांै । आज त्यो पूरा भयो ।'
उनीहरू बुधबारै धुलिखेल अस्पताल आइपुगेका हुन् । 'हाम्रो हनिमुन सबैले थाहा पाउने गरी मनाउन चाहन्थ्यांै,' उनले सुनाइन् । यसका लागि उनीहरूले जर्मनी, अस्ट्रेलिया, स्लोभाकिया, रसिया, ताजकिस्तान र पाकिस्तान हुँदै साइकलमा ७ हजार किलोमिटर छिचोल्नुपर्‍यो ।  त्यस क्रममा परिवार, साथीभाइ, विभिन्न देशका मनकारीहरूबाट उनीहरूले आर्थिक सहयोग जुटाए । मारियोका अनुसार करिब ५० हजार डलर जम्मा भएको छ ।
'हाम्रो साइकलयात्रा पूरा भयो,' उनले भने, 'जुन उद्देश्य लिएर हिँडेका थियांै, त्यो राम्ररी पूरा भयो,' आफूले गरेको सानो कामले धेरैलाई फाइदा पुग्ने हुँदा धैरै खुसी लागेको उनले बताए ।
मारियोका अनुसार उनीहरू दैनिक ६ घन्टा साइकलमा हिँड्ने गरेका थिए । 'हामी १ दिनमात्र बिरामी पर्‍यौं,' उनले भने । बुधबार बिहान धुलिखेल अस्पताल पुग्दा उनीहरूले यात्राका सबै कठिनाइ बिर्सेको झल्को अनुहारमा टल्किरहेको थियो ।
अस्पताल प्रमुख डा. रामकण्ठ मकाजु श्रेष्ठले माला पहिर्‍याएर उनीहरूलाई स्वागत गरे । उनीहरूको सम्मानका लागि अस्पतालको गेटदेखि २ सय मिटर वरसम्म चिकित्सक र कर्मचारीहरू हातहातमा पुष्पगुच्छा लिएर खडा थिए । त्यो सम्मानबाट उत्पन्न खुसी मोनिकाका आँखाबाट झरिरहेको थियो । दुवै पाहुना सबैलाई नमस्ते भन्दै कृतज्ञता प्रकट गरिरहेका थिए । उनीहरूले अस्पतालको आकस्मिक कक्ष र प्रसूति कक्ष अवलोकनसमेत गरे ।
'उनीहरूले विवाह गर्दा म चुगमै थिएँ,' डा. श्रेष्ठले सम्भिmए, 'मैले त्यहाँको अस्पतालमा एउटा कार्यपत्र प्रस्तुत गरेको थिएँ । त्यही कारण उनीहरू गरिब बिरामीका लागि केही सहयोग गर्न चाहन्थे, जुन आज पूरा भयो ।'

source:kantipur