काठमाडौं, साउन ३१ - आइसिसी पेप्सी विश्व क्रिकेट लिग डिभिजन-४ मा विजयी सुरुवात गरेको नेपालको आज
अमेरिकासित हुने भनिएको खेल नहुने भएको छ।
शनिबार यी दुई टोलीबीचको खेल वर्षाले स्थगित भएपछि सोमबार सारिएको थियो। तर अर्जेन्टिना र क्यामी आइल्यान्डबीचको खेल आइतबार हुन नसकेपछि प्रतियोगितामा सबै टोलीले समान खेल खेल्नुपर्ने नियमानुसार शनिबारका सबै स्थगित खेल हटाइएको हो।
यसअघि हिजो नेपालले आयोजक इटालीमाथि ५ विकेटको विजय हात पार्न भने निकै संघर्ष गर्नुपर्यो।
७२ रनको सहज लक्ष्यलाई नेपालले २५ ओभरमा प्रमुख ५ विकेट गुमाउँदै पूरा गरेको थियो। झीनो लक्ष्यलाई पछ्याउने क्रममा देखाएको प्रदर्शनले नेपालको ब्याटिङ स्तर पुनः उदांगो भएको छ। शरद भेषवाकर १० र महबुव आलम १६ रन बनाई अविजित रहे। ११औं बलमा खाता खोलेका महबुवले आफ्नै शैलीमा छक्का प्रहार गर्दै खेलको अन्त गरे। उनले २ चौका पनि प्रहार गरे।
बोलोनियाको पिएनोरो ओभल दी रास्तीगनानो मैदानमा नेपाली ब्याटिङले सुरुवातदेखि नै घुँडा टेक्न पुग्यो। सानदार फर्ममा रहेका ओपनर अनिल मण्डल दोस्रो ओभरमै खाता नखोली पवेलियन फर्केपछि नेपाली ब्याट्सम्यान एकपछि अर्को गर्दै आउट भए। अनिलसँगै शक्ति गौचन पनि विकेट पछाडि क्याचआउट भए। शक्तिले १२, कप्तान पारस खड्काले ९ र महेश क्षेत्रीले १९ रन बनाए। उपकप्तान ज्ञानेन्द्र मल्लले खाता खोल्न भ्याएनन्।
यसअघि अघिल्लो दिनको वर्षाले मैदान भिजेका कारण खेल ४० ओभरमा छोट्याइएको थियो, जहाँ टस हारेर ब्याटिङ गरेको इटाली ३३.१ ओभरभित्रै ७१ रनमा सीमित भयो। नेपालका लागि देब्रेहाते सिमर अमृत भट्टराईले ३ विकेट लिए। विनोद दासको स्थानमा खेलको चौथो ओभरमै पहिलो परिवर्तनका रूपमा आएका अमृतले ६.२ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेका थिए।
नेपाललाई विकेटको सुरुवात अर्का मध्यम गतिका बलर विनोदले दिलाए। आफ्नो पहिलो ओभरपछि इन्ड परिवर्तन गरेका विनोदले सातौं ओभरमा १० रन बनाएका एन्डी नर्थकोटलाई गलीमा पारसको हातबाट क्याचआउट गराए। त्यसपछि अमृत, पारस, शक्ति र बसन्तले २-२ विकेट लिएका थिए। अमृतले अन्तिम विकेट लिँदै इटालियन टोलीलाई समेटेका थिए। ६ ओभरमा ७ रनमात्र दिएका शक्ति म्यान अफ द म्याच भए।
इटालीमाथि नेपालको यो लगातार दोस्रो विजय हो। २००५ मा मलेसियामा भएको विश्वकप छनोट डिभिजन-२ मा नेपालले शक्ति गौचनको सतकमा इटालीलाई ८८ रनले पराजित गरेको थियो।
नेपालसँगै प्रतियोगिताको दाबेदार मानिएको अमेरिकाले सानदार सुरुवात गरेको छ। अमेरिकाले तान्जेनियालाई १० विकेटले हरायो। तान्जेनियालाई ३८.१ ओभरमा १ सय २८ रनमा सीमित गरेपछि १२ छक्का प्रहार गरेको अमेरिकाले १२.३ ओभरमै खेल जित्यो। अर्जेन्टिना र क्यामी आइल्यान्डबीचको खेल वर्षाले स्थगित भएको छ।
source:nagarik