नेपाल, ओली र रावलले फसाएः कार्की :

काठमाडौं, ६ असोज - इन्सपेक्टर बनाइदिने प्रलोभनमा सर्वसाधारणसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका एमाले सभासद् डोलबहादुर (डिबी) कार्कीले आफूलाई आफ्नै दलका नेताहरूले फसाएको आरोप लगाएका छन् । प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री भीम रावल र नेता केपी ओली मिलेर आफूलाई फसाएको कार्कीले आरोप लगाएका हुन् ।
आदिवासी क्षेत्री महासंघले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभासद् कार्कीले आफू पार्टीको अन्तर्द्वन्द्वको सिकार भएको दाबी गरे । प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामाका लागि पार्टी संसदीय दलमा आफूले चलाएकाले दबाबको बदला लिन प्रधानमन्त्रीलगायत पार्टीकै नेताहरूले आफूलाई घुस प्रकरण रचेर फसाएको कार्कीको दाबी छ । आफूसँगै पक्राउ परेका १००८ स्वामी ब्रह्मानन्द बाबाले आफ्नो डेरामा बोलाएको अवस्थामा एकजनाले सामान छाडेर गएको र पछि आफू स्वामीको कोठमा पुग्दा आफूलाई रंगेहात पक्रिएको भनी प्रचार गरिएको उनको दाबी छ । '१००८ स्वामी ब्रह्मानन्द बाबाले मेरो डेरामा बोलाएको अवस्थामा एकजनाले सामान छाडेर गएका थिए,' कार्कीले भने, 'पछि स्वामीको कोठामा पुग्दा अख्तियारका मानिस आएर तेरो पैसा भन्दै फोटो खिचेर मलाई फसाए ।' उनले अख्तियारले षड्यन्त्रमूलक ढंगले आफूलाई फसाएको पनि दाबी गरे ।
विशेष अदालतले कारबाही चलाइरहेका कार्की मंगलबार पाँच लाख धरौटी बुझाएर रिहा भएका हुन् । कार्कीलाई एमालेले संगठित सदस्यता र पार्टीमा उनले सम्हालेका सबै जिम्मेवारीबाट निलम्बन गरेको छ ।

source:nayapatrika