माओवादी लुटेरा हुन : ओली :

अपहरण, लुटपाट राजनीतिभित्र पर्दैन-विराटनगर, असोज ७- एमाले वरिष्ठ नेता केपी शर्मा ओलीले
हत्या, हिंसा र सत्ता कब्जाको नीति नत्यागेसम्म माओवादीसँग विश्वासको राजनीति गर्न नसकिने बताएका छन्। नेता ओलीले माओवादी सिद्धान्त हत्या, हिंसा र सत्ता कब्जा रहेकाले ऊसँग सहमति हुन नसकेको बताए।

'विश्वासको राजनीति भएन भनेर उफ्रिउफ्री कराउने, गएर छवि कार्कीको हत्या गर्ने अनि कहाँ हुन्छ विश्वासको राजनीति ?', बिहीबार विराटनगरमा नेता ओलीले भने- म यहीँबाट आह्वान गर्छु आउनूस् हतियारको राजनीति छोड्नूस्, त्यति भन्न किन नसकिने ?' सत्ता कब्जा, सम्पत्ति कब्जा, अपहरण, लुटपाट राजनीतिभित्र नपर्ने बताउँदै लुटेराले मात्र त्यस्ता काम गर्न सक्ने र माओवादी त्यही लुटेरा भएको आरोप लगाए।

'माओवादी साथीहरु जनताका लागि क्रान्ति गर्छु भन्छन्', उनले भने- चिनियाँ व्यापारी लुट्ने, मान्छे कुट्ने, हत्या गर्ने लुटेरा पनि जनता हुन् र ?' युवा सङ्घ मोरङले समयमै शान्ति र संविधानका लागि सुरु गरेको अभियानमा आइपुगेका नेता ओलीले तानाशाह अतिवादविरुद्व एमाले डटिरहने पनि बताए।

source:nagarik