विराटनगर, असोज ७ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले जलविद्युत आयोजना निर्माण रोक्ने माओवादी
घोषणाले वैदेशिक लगानी प्रभावित हुने बताएका छन्।
'जलविद्युत आयोजना निर्माण रोक्ने माओवादी चेतावनीले वैदेशिक लगानी रोकिन्छ,' बुधबार विराटनगरमा जोशीले भने, ‘लाइसेन्स दिने सरकारलाई मात्र खोस्ने वा निर्माण रोक्ने अधिकार हुन्छ, त्यो काम कुनै राजनीति पार्टीको होइन।'
संसद्को स्वीकृति नलिई १४ वटा जलविद्युत आयोजना निर्माण गर्न सरकारले दिएको अनुमतिमा विरोध जनाउँदै माओवादीले यस्ता आयोजनाको निर्माणमा अवरोध गर्ने बताएको छ।
आयोजना निर्माणमा अवरोध गर्नुभन्दा संसदीय प्रक्रियाबाटै अनुमति खारेजीका लागि दबाब दिन माओवादीलाई जोशीले आग्रह गरे। ‘राजनीति पार्टीहरुको यस्तै संस्कारले मुलुक बर्बाद हुँदैछ,' उनले भने, ‘यस्ता व्यवहारले राजनीति पार्टीहरुको प्राथमिकतामा आर्थिक एजेन्डा नरहेको प्रस्ट हुन्छ।' १४ जलविद्युत आयोजना निर्माण रोक्ने माओवादी निर्णयप्रति महासंघले आधिकारिक घारणा सार्वजनिक गर्ने अध्यक्ष जोशीले बताए।
माओवादीले पश्चिम सेती, माथिल्लो कर्णाली, अरूण-३, चैनपुर सेती, माथिल्लो कर्णाली एसटी-१, तल्लो अरुण, माथिल्लो मर्स्याङदी-२, बुढीगण्डकी, तामाकोसी-३ ‘ए', दूधकोसी, दूधकोसी-४, लिखु, फूलकोट, नामलान जलविद्युत आयोजना रोक्ने घोषणा गरेको हो।
source:nagarik