काठमाडौं, असोज ११ - कांग्रेसको खुला २५ केन्द्रीय सदस्यमा पुराना र परिचित अनुहारबीच युवा नेता गगन थापा
महाधिवेशन प्रतिनिधिको पहिलो रोजाइ बनेका छन्। 'कांग्रेस प्रतिनिधिले परिचित अनुहारलाई केन्द्रीय सदस्यमा रोजेका छन्,' राजनीतिकशास्त्रका प्राध्यापक कृष्ण खनालले भने, 'गगन थापा १०, १२ वर्षयता जनस्तरमा चर्चित छन् र उनलाई जनआन्दोलन-२ ले सबैबीच चिनाएको हो।'
राजनीतिकशास्त्रका अर्का प्राध्यापक कृष्ण पोखरेल पनि राष्ट्रिय छविकै कारण थापाले धेरै मत पाउन सकेको धारणामा सहमत छन्। 'उनी जनआन्दोलनका युवा नायक हुन्, त्यो भूमिकालाई कांग्रेसले मान्यता दिएको छ,' पोखरेलले भने, 'पार्टीबाहिर पनि उनको छवि राम्रो छ।'
जनआन्दोलनपछि मुलुक भ्रमण गरेका थापा गणतन्त्रात्मक धारका प्रतिनिधि पनि हुन्। त्यसो त थापाको गणतान्त्रिक धारका विरोधी खुमबहादुर खड्का पनि कांग्रेस प्रतिनिधिको तेस्रो रोजाइमा परेका छन्। कांग्रेसले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालगायत मुद्दा स्वीकार गरेकामा खड्का असन्तुष्ट छन्।
'महाधिवेशनले कांग्रेसमा सबै खाले विचारलाई ठाउँ छ भन्ने देखाएको छ,' खनालले भने, 'बहुसदस्यीय मताधिकारमा यस्तो देखिए पनि राम्रो संकेत होइन।' प्रतिनिधिहरूले एकजनालाई मात्र चुन्नुपरेको भए खास लोकप्रियता जाँचिने खनालको भनाइ छ।
अग्रपंक्तिमा आउने केन्द्रीय सदस्यलाई एउटै मान्यतामा नाप्न नमिल्ने अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको मत छ। 'प्रतिनिधिले लोकप्रिय र परिचित अनुहारालाई प्राथमिकता दिएका छन्,' आचार्यले भने, 'कार्यकर्ताको काम गरिदिने, विचारक र पारिवारिक विरासत सबैलाई महत्व दिएका छन्।'
दोस्रो रोजाइमा परेका केसी र खड्का कार्यकर्तालाई सहयोग र संंरक्षण र सहयोग दिने नेता रहेको आचार्यको ठम्याइ छ। 'वंशानुगत बिँडो थाम्नेहरूलाई रुचाउनु कांग्रेसको परम्परा नै हो,' उनले भने।
आइतबार साँझसम्मको मतगणनामा विचारक प्रदीप गिरीलाई पाँचौं-छैठौं स्थानका शंशाक र सुजाता कोइरालाले पछ्याएका छन्।
पार्टी विभाजित हुँदाको एघारौं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याउने सुशील कोइराला सभापति चुनिएका छन् भने दोश्रो स्थानका रहेका रामचन्द्र पौडेल १० स्थानभित्रै रहने देखिएको छ।
त्यसबेला चौथो स्थानका रहेका खड्का तेस्रो हुने ताकमा छन् भने चौथो स्थानमा गिरी आएका छन्। पाँचौ स्थानका केसी भने दोस्रो स्थानमा उकालो लागेका छन्।
यसपटक खुलातर्फ केन्द्रीय सदस्यमा गगन थापासहित शंकर भण्डारी र चन्द्र भण्डारीले प्रवेश पाउने देखिएको छ। मतमा अग्रता लिएका अन्य पुरानै र परिचित अनुहार छन्।
source:nagarik