अझै ८ महिना सरकार बन्दैनः उपप्रधानमन्त्री गच्छदार :

काठमाडौं, आश्विन २४ - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले अझै पनि
सहमतिको सरकारको कुरा गरेर बस्ने हो भने अझै आठ महिनासम्म पनि मुलुकले नयाँ प्रधानमन्त्री नपाउने ठोकुवा गरेका छन् ।
'अब मुलुकमा सहमतिको प्रधानमन्त्री बन्नै सक्दैन,' आइतबार रिपोर्टर्स क्लवले राजधानीमा आयोजना गरेको साक्षात्कारमा गच्छदारले भने, 'तीन महिनासम्म प्रधानमन्त्री मुलुकले पाएन, यस्तै अवस्था रहे आठ महिनासम्म नयाँ सरकार नबन्न सक्छ ।' दलहरु बहुमतीय प्रक्रियामा नफर्केसम्म मुलुकमा नयाँ सरकार बन्ने सम्भावना नरहेको गच्छदारको दाबी छ ।
उपप्रधानमन्त्री गच्छदारले आफूलाई कामचलाउ सरकारमा एकछिन पनि बस्ने इच्छा नभएको भन्दै राजीनामा दिने ठाँउ नभएकाले अप्ठ्यारो अवस्था भएको बताए । अहिलेसम्मको अवस्थाले तीन ठूला दल मुलुकको राजनीतिमा असफलसिद्ध भइसकेकाले  मैदान छाडिदिनसमेत उनले आग्रह गरे । 'तीनवटै ठूला पार्टी सत्ताका लालची हुन त्यसका कारण पनि मुलुकले निकास पाउन नसकेको हो,' उनले भने ।
सोलुखुम्बुमा भारतीय राजदुतमाथि माओवादीले गरेको ब्यवहारलाई कुटनीतिक मर्यादा, संस्कार र शिष्टाचार विपरीतको ब्यवहारको संज्ञा दिदै उपप्रधानमन्त्री गच्छदारले त्यसको निन्दा र भर्त्सना गरे । 'सानो सानो कुरा गरेर नयाँ नेपाल बनाउँन सकिदैन ।  भारतले सहयोग गरेपछि त्यसको जस लिन खोज्नु स्वाभाविक हो,' उनले भने ।

source:kantipur