चाँडै राजसंस्थाको आगमन हुने कमल थापाको ठोकुवा :

असोज २४- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा चाँडै राजसंस्थाको आगमन हुने
ठोकुवा गरेका छन्। उनले उग्रवामपन्थी सर्वसत्तावाद वा प्रजातन्त्रका नाममा अधिनायकवाद जन्म हुने दाबी पनि गरे। वर्तमान राजनीतिक घटनाक्रम सम्भावित परिदृश्य भएको बताउँदै अध्यक्ष थापाले यी दुवैमा अट्ने गरी राजसंस्थाको आगमन हुने बताएका हुन।

होटल जेनियलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले भने- अहिलेको गतिरोध त्यही रोगको लक्षण हो, समयमै यसको निदान गर्नुपर्छ। वर्तमान संविधानसभा असफल भइसकेकाले रोगको उपचार गर्न ताजा जनादेशमा जानुपर्ने थापाको धारणा छ। ११ पटकसम्मको निर्वाचनले नयाँ प्रधानमन्त्री दिन नसक्ने संविधानसभाको औचित्य समाप्त भएको थापाले बताए।

शान्ति प्रक्रिया नै त्रुटिपूर्ण ढङ्गले गरिएकाले समस्या उत्पन्न भएको थापाले बताए। लडाकु र हतियारको टुङ्गो नलगाई संविधानसभाको चुनाव गरिएकाले यस्तो समस्या आएको हो, थापाले भने- शान्ति प्रक्रियामा देखिएका त्रुटl सच्याएर नयाँ चुनाव गराउनुको विकल्प छैन।

'तीन दलीय सिण्डिकेट' ले मुलुकलाई असफल पार्न लागेको थापाको आरोप छ। तीन दलीय सिण्डिकेटको अन्त्य नभए मुलुकमा ठूलो दुर्घटना हुन्छ, थापाले भने- सीमित पार्टीबाट चलाइएको विधि र प्रक्रियालाई संशोधन गरेर अगाडि बढ्नुपर्छ। बुलेट ब्यालेटको सम्बन्ध 'क्लियर' हुनुपर्ने थापाको भनाइ छ।

अर्को प्रसङ्गमा थापाले सोलुखुम्बूमा भारतीय राजदूत राकेश सुदमाथि भएको अभद्र व्यवहार र सुदले दिएको अभिव्यक्ति दुवै आपत्तिजनक भएको टिप्पणी पनि गरे। 'यी दुवै कार्यले नेपाल–भारतको सम्बन्धमा ठीक गर्दैन'- थापाले भने।

source:nagarik