निजी विमान लिएर साउदी राजकुमार नेपाल आउँदै :

काठमाडौं, असोज २७- साउदी अरबका राजकुमार अल-वलिद विन तलाल कात्तिकको अन्तिम साता नेपाल
आउने भएका छन्। निजी भ्रमणको सिलसिलामा उनी पहिलोपटक नेपाल आउन लागे पनि उनको भ्रमणलाई औपचारिक बनाउन परराष्ट्र मन्त्रालयले पहल सुरु गरेको छ। अल-वलिद संसारकै धनाढ्यसूचीमा १९ औं नम्बरमा छन् भने अरब राष्ट्रहरूको सूचीमा पहिलो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी कात्तिक २७ गते नेपाल आउने कार्यक्रम तय गरिएको छ। उनले एक दिन नेपालका विभिन्न नेतासँग भेटघाट गर्नुका साथै थप दुई रात नेपालमा बिताउनेछन्। उनी नेपालबाट भुटान र ल्हासा गए पनि रात बिताउन भने काठमाडौंनै फकर्नेछन्।

अल-वलिदले पछिल्लो समय विकासोन्मुख देशका कम्पनीमा लगानी बढाएका छन्। नेपालमा पनि उनी लगानी गर्न इच्छुक रहेको भनाइ साउदी अरबस्थित नेपाली दूतावास स्रोतको छ। 'विकासोन्मुख राष्ट्रमा सानो लगानीमा पनि ठूलो कम्पनी चलाउन सकिन्छ, नेपालमा पनि उनी यही वातावरण बुझ्न आउन लागेका हुन्,' दूतावास स्रोतले भन्यो।

वलिद साउदी अरबका संस्थापक राजा अब्दुल अजिज अल साउदका नाति हुन् भने तलालका कान्छा छोरा। उनी किङ्डम होल्डिङ कम्पनीको अध्यक्ष पनि हुन्। सन् १९७९ बाट व्यापरमा हात हालेका अल-वलिदको रोटाना भिडियो एन्ड अडियो कम्पनी, लेबानिज ब्रोडकास्टिङ सेन्टर, न्यूज कर्पोरेसन, सिटीग्रुप, अल नहर, अल डियार, सिटीबैंक, एओएल, एपल इन्क, एमसिआई इन्क, मोटोरोला कम्पनी लगायत विश्वका थुप्रै देशका चर्चित होटल तथा प्रविधि कम्पनीमा लगानी छ। रियल स्टेट, स्टक मार्केट, सञ्चार, पर्यटन, होटल उद्योग उनले लगानी गर्दै आएका खास क्षेत्र हुन्।

'नेपालको पर्यटन र होटल उद्योगमा अल-वलिदले एकदमै रूची देखाएका छन्। हामीले नेपालको प्राकृतिक सौन्दर्य र पर्यटनबारे उनलाई राम्रोसँग भ्रमणका बेला बुझाउन सके ठूलो लगानी नेपाल भित्रन सक्छ,' दूतावास स्रोतले भन्यो, 'यसै भएरै हामीले उनको भ्रमणलाई औपचारिक बनाउन खोजेका हौँ।'


राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल र उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासँग भेटवार्ता गर्न अल-वलिदले प्रस्ताव गरेको दूतावास स्रोतले बतायो। दूतावास स्रोतले भन्यो, 'अन्य मन्त्री र नेताहरूसँग भेटवार्ता गर्ने तारतम्य पनि हामी मिलाउँदैछौँ।' दूतावास स्रोतका अनुसार पयर्टनमन्त्री, श्रममन्त्री र ठूला दलका शीर्षनेतासँग पनि भेटवार्ता गर्ने पहल भइरहेको छ।

[साउदी राजकुमारको ३१ करोड डलर पर्ने आफ्नै एअरबस पनि छ। ]

साउदी राजकुमारको ३१ करोड डलर पर्ने आफ्नै एअरबस पनि छ।
अल-वलिदको भ्रमणमा नेपाल सरकारले पहल गरे साउदी अरबमा नेपाली दक्ष कामदारको माग बढाउन सकिने तर्क दूतावास स्रोतको छ। साउदीमा अल-वलिदकै थुप्रै कम्पनी रहेकाले पनि नेपाली कामदारलाई रोजगारीको नयाँ अवसर प्रदान गर्न उनलाई गाह्रो नहुने स्रोतले बतायो।

साउदीमा हाल झन्डै साढे ४ लाख नेपाली कामदार छन्। नेपालमा साउदी अरबको दूतावास नहुँदा नेपाली कामदारले अनावश्यक सास्ती खेप्नुपरेको छ। 'साउदीले दुई वर्षभित्र नेपालमा दूतावास खोल्ने तयारी त गर्दै छ, तर अल-वलिद आउँदा यो समस्यालाई सरकारले गम्भीर भएर राख्ने हो भने उनले पाँच महिनाभित्र नेपालमा दूतावास खुलाउन सक्छन्,' दूतावास स्रोतले भन्यो।

बोइङ ७४७, एयरबस ३२१ र हकर सिदडिले १२५ गरी तीनवटा निजी विमान राखेका अल-वलिद २० सदस्यीय टोलीको नेतृत्व गर्दै आफ्नो निजी विमानमा काठमाडौं आउनेछन्। काठमाडौंबाट भुटान र ल्हासा जान भने उनले विमान चार्टर गर्ने जनाइएको छ। भुटान र ल्हासाका विमानस्थल सानो भएकाले उनको निजी विमान काठमाडौंमा रहने दूतावास स्रोतले बतायो।

गत मार्चमा साउदीका लागि नेपाली राजदूत हमिद अन्सारीले अल-वलिदलाई भेटी नेपाल आउन निम्ता दिएका थिए। उनले त्यतिबेलै आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका थिए।

source:nagarik