यस वर्षको दसैँ घर-आँगनमा भित्रिसकेको छ । यो सम्पूर्ण नेपालीको कुनै न कुनै
आस्थासित गाँसिएको पर्व हो । सहरबजारमा दसँैको रौनक प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । सहरमा दसैँका नाममा आफ्नो आर्थिक हैसियत प्रदर्शन गर्ने, अनावश्यक तडकभडक देखाउने र सकीनसकी होडबाजीमा उत्रनेजस्ता विसंगति जन्मिएका छन् । जसले गर्दा हुनेखाने र हुँदा खानेबीचको खाडल व्यापक फराकिलो हुँदै गएको छ ।
तर, गाउँघरमा मनाइने दसैँमा भने विगतको जस्तो रौनक देखिन्न । अहिले हाम्रा गाउँघर सुनसान छन् । कामको खोजीमा बिदेसिएका युवा उतै छन् । गाउँघरमा पहिलेजस्तो युवायुवती भेटिँदैनन् । जसले गर्दा आफ्ना छोराछोरीको पर्खाइमा रहेका बाबुआमा दसैँ आए पनि उदास छन् । बिदेसिएका बाबु फर्किने आशामा तिनका छोराछोरी बाटातिर आँखा ओछ्याइरहेका भेटिन्छन् । परदेश लागेका आफ्ना पति दसैँमा टुप्लुक्क आइपुग्ने झिनो आशामा दिन काटिरहेका छन् कैयौँ महिला । त्यसैले गाउँघरको दसैँ निकै सुनसान लाग्न थालेको छ ।
पहिले-पहिले दसैँ आउनुभन्दा केहीअघिदेखि नै गाउँघरमा दसैँको रौनक सुरु भइसक्थ्यो । दसैँका लागि गाउँभरका युवायुवती भेला भएर आ-आफ्ना गौँडा-तगारा, बिग्रेभत्केका सार्वजनिक धारा, पाटी, पौवा, बाटोघाटो आदिको मरम्मत र सरसफाइमा बडो उत्साहसाथ जुट्थे । एकप्रकारको छुट्टै जोस, जाँगर र उमंगले भरिएका युवायुवती आ-आफ्नो टोलका सामूहिक काममा बडो उत्साहले जुट्थे । तर, अहिले गाउँघरका ती गौँडा-तगारा, बाटोघाटो, सार्वजनिक पँधेरा टुहुरा बनेका छन् । अधिकांश यस्ता संरचना भत्किसकेका छन् । बाटोघाटो झाडीमा परिणत भइसकेका छन् । अधिकांश सार्वजनिक पँधेराबाट पानी झर्दैन । किनकि, यिनले कम्तीमा पनि वर्षको एकपटक मात्रै भए दसैँका नाममा सरसफाइ र मरम्मत-सुधार गर्ने जोसिला युवा हात र जाँगर देख्न नपाएको नै वर्षौं भइसक्यो ।
गाउँघरमा मनाइने दसैँको मुख्य आकर्षण भनेको चौतारामा हालिने लठारेपिङ र खुला चौरमा हालिने लिंगेपिङ पनि हुन् । लिंगेपिङ हाल्न बाँसको लिंगा काट्ने र बोक्ने काम कम्ती रमाइलो हुन्नथ्यो । तर, अहिले बाँसका मोटा-मोटा लिंगा बोक्नसक्ने बलियाबांगा युवाको गाउँघरमा खडेरी छ । लिंगेपिङका लागि लठारो बाट्ने वेलामा सानोतिनो मेला नै लाग्थ्यो । गाउँभरिका युवायुवती, बालबालिका सबैले घरघरबाट बाबियो संकलन गरी बेलुका एकै ठाउँमा भेला भएर हाँसखेल गर्दै लठारो बाट्थे । तर, अहिले पिङ बाट्नुपर्यो भने लठारोका तीनवटा पयो समात्ने युवाको समेत अभाव हुन थालेको छ । अझ अहिले त दसैँमा खसी-बोका काट्दा समातिदिने सहयोगी हातको समेत अभाव हुन थालेको छ ।
विजयादशमीपछि निधारभरि रातो टीका लगाएर बाटैभरि ताँती लाग्ने बटुवा पनि हिजोआज घट्दै गएका छन् । दसैँको टीकाटालोका लागि आफन्तकहाँ गएर भेटघाट गरी आत्मीय साइनो नवीकरण गर्ने पर्व पनि हो दसैँ । तर, हिजोआज त्यसरी आत्मीयता साटासाट गरी आपसी सम्बन्धलाई कसिलो पार्ने क्रम पनि पातलिँदै गएको आभास हुन थालेको छ । जसले गर्दा पारिवारिक पुनर्मिलनको चाडका रुपमा समेत चिनिने दसैँको रौनक पनि फिका हुँदै जान थालेको छ ।
अहिले कुनै पनि चाडपर्व विकृतिबाट मुक्त छैनन् । प्रत्येक पर्वमा कुनै न कुनै रूपमा विकृति भित्रिएकै छन् । यस्तोमा दसैँ पनि त्यसबाट अछुतो रहने त सम्भावनै छैन । चाडपर्वका नाममा भित्रिएको सबैभन्दा डरलाग्दो विकृति त अनावश्यक तडकभडक र फजुल खर्च नै हो । यसले समाजमा हुनेखाने र हुँदा खाने वर्गबीच डरलाग्दो वर्गीय विभेद खडा गरेको छ । जसले गर्दा यस्ता चाडपर्वको सांस्कृतिक महत्त्व नै खुम्चिएको छ । चाडपर्वलाई विकृतिबाट टाढै राखी यसका राम्रा र सकारात्मक पक्षलाई जोगाएर हार्दिकता साटासाट गर्दै मनाउनुपर्नेमा त्यसो हुन सकिरहेको छैन । बहुसांस्कृतिक मुलुक भएकाले हाम्रा प्रत्येक चाडपर्वका आ-आफ्नै अर्थ र विशेषता रहेका छन् । त्यसलाई जोगाएर आ-आफ्नो मौलिक सांस्कृतिक चिनारी जोगाउनु हाम्रै दायित्व हो । त्यसैले दसैँका नाममा भित्रिएका तमाम विकृति पन्छाएर यसको सांस्कृतिक गरिमा जोगाउनु आजको पहिलो आवश्यकता बनेको छ ।
source:nayapatrika