७५ हजार रुपैयाँमा हत्या :

ललितपुर (चापागाउँ) , आश्विन २७ - सामान्य घरयासी झगडामा लेले बस्ने राजेन्द्र तामाङले ७५ हजार रुपैयाँ
खर्च गरेर छिमेकीको हत्या गराएको खुलेको छ । उनले देवीचौर-१ का निनबाबु भन्ने सानुबाबु ब्लोनको हत्या गराएका हुन् ।
दुई साता अघि ब्लोनलाई खुकुरी र चक्कुले घाँटी रेटी हत्या गरिएको थियो । प्रहरीले घट्नामा संलग्न भएको आशंकामा पक्राउ गरेका   पाँच जनालाई बुधबार सार्वजनिक गरेको थियो ।
राससको समाचार अनुसार लेले-८ बस्ने २४ वर्षीय राजेन्द्र तामाङले सामान्य घरायसी झगडाका कारण ७५ हजार रुपैयाँ दिएर मन्थली-२ अम्बासका सुरेश सिँतानलाई हत्या गर्न लगाएको स्वीकार गरेका छन् । सिँतानले २५ हजार रुपैयाँ आफूले राखी डराउनेपोखरी-२ काभ्रेपलाञ्चोकका तिर्थमान तामाङलाई रु ५० हजारमा मार्न लगाएको सञ्चारकर्मीमाझ बताए ।
उनले २१ हजार रुपैयाँ खनालथोक-१ खरिबोटका लुङ्कु लामालाई र लुङ्कुले शिखरपा-२ बस्तिपुरका उमेश थिङलाई रु १० हजार दिएर मार्न लगाएको प्रहरीसमक्ष बयान दिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डिएसपी प्रमोदकुमार खरेलले जानकारी दिए । सात-आठ वर्षअघिदेखि नै घरायसी झगडा पर्दै आएको पीडितकी श्रीमती कान्छी ब्लोनले जानकारी गराइन् ।

source:kantipur