एनआरएनहरुले भने, 'नागरिकता दिए लगानी बढ्छ :

काठमाडौ, आश्विन २७ - बिदेशी पार्सपोर्ट लिएका गैरआवासीय नेपालीले नेपाली नागरिकता पनि लिन पाउने
व्यवस्था भएमा नेपालमा लगानी बढ्ने विश्वास प्रकट गरेका छन् ।
विदेशी पार्सपोर्ट लिनेले नेपालको नागरिकता त्याग्नुपर्ने सरकारी नीतिलाई सच्याएमा नेपाल आफ्नो देश नै भएको महसुस गरी नेपालको समुन्नतिका लागि लगानी गर्न सक्ने उनीहरूको भनाइ छ ।
नेपालका लागि एनआरएनका अध्यक्ष होमनाथ आचार्यले नेपालमा विदेशी पार्सपोर्ट लिए नेपाली नागरिकता स्वतः रद्द हुने प्रावधान रही आएको र यो पुरानो शैली अब रद्द गर्नुपर्ने बेला आइसकेको बताए ।
'नेपालमा त्यस प्रकारको व्यवस्था भएमा विदेश गएका नेपाली नेपाल आउँदा आफ्नै घर आएको र सुरक्षित भएको महसुस गर्न पाउँछन् । परिणामतः कुनै पनि क्षेत्रमा आफूसँग भएको रकम लगानी गर्न सक्छन्' उनले भने ।
आफ्नो देशमा शानसँग आउन पाउँदा उनीहरूले लगानीका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुने उल्लेख गर्दै त्यसले देशमा लगानी बढी बेरोजगारी कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
आचार्यले दोहोरो नागरिकता लिन नपाइने प्रावधान भएको देशबाट आफैँले नेपालको नागरिकता त्यागेको कागजात ल्याएमा मात्र नागरिकताबाट वञ्चित गर्नुपर्ने नभए उसले लिएको नागरिकता रद्द नहुने प्रावधान नेपालमा हुनुपर्ने बताए ।
त्यसैगरी एनआरएनका अध्यक्ष देवमान हिराचनले नेपालको नागरिकता रद्द गर्ने प्रावधानले गैरआवासीय नेपालीलाई दुःखी तुल्याएको भन्दै उनीहरूले नेपाल आफ्नै देश हो भन्नका लागि उनीहरूसँग प्रमाण नभएको बताए ।
उनले सरकारले नेपालको नागरिकता लिने व्यक्ति जुनसुकै देशमा गए पनि नेपाली नागरिकता रद्द नहुने प्रावधान राखिएमा सयौँ गैरआवासीय नेपालीले लगानी गर्ने ठोकुवा गरे ।
'हामी विदेशमा काम गर्नका लागि गएका हौं तर सरकारले विदेशी नै बनाइदिन्छ नेपाली भएको एउटामात्र प्रमाण नागरिकतासमेतलाई रद्द गरेर' उनको दुखेसो थियो । हाल नेपालमा गैरआवासीय नेपालीले विभिन्न क्षेत्रमा गरी करिब ३० अर्ब रुपैयाँ लगानी गरेका छन् ।

source:kantipur