आज महाअष्टमी पर्व / दुर्गाभवानीको पूजा आराधना गरी मनाइँदै :

काठमाडौं, आश्विन २९ - बडादसैँको आठौँ दिन शुक्रबार नेपालभर दुर्गाभवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदैछ ।
यस उपलक्ष्यमा बिहीबार दसैँघर र कोतलगायत मुलुकका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ ।
काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठहरू दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरमा पनि बलि चढाउने र पूजाआराधना गर्नेहरूको बिहान सबेरैदेखि घुइँचो लाग्छ ।
यसैगरी गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरमा पनि शक्तिरूपा भगवतीको पूजाअर्चनाका लागि यस उपलक्ष्यमा विशेष भिड लाग्छ ।
महाअष्टमीकै अवसरमा बिहीबार दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपुर्जा, हातहतियार र सवारीसाधन सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।
पशुबलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिरौंला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खिर तथा नरिवल चढाउने गर्दछन् ।
हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।
नेवारहरूमा विशेषगरी वज्राचार्य, शाक्य, मानन्धरलगायतका जातिहरूमा आजको दिन दुर्गाभवानीको पूजाआजा गर्ने चलन छ ।

source:kantipur