जनता जोड्ने दसैं :

काठमाडौ, आश्विन २४ - दसैं नजिकिन लाग्दा अनमिनका वरिष्ठ राष्ट्रिय राजनीतिक मामिला अधिकृत रासिद इराकीको मन छटपटिन
थालेको छ । इस्लाम धर्मावलम्बी रासिदलाई हिन्दुको महान् पर्व दसैंले तानेको सुन्दा धेरैलाई आश्चर्य लाग्ला । तर यो यथार्थ हो ।
'इदमा हिन्दु मित्रलाई निम्तो दिन्छौं, उहाँहरूले दसैंमा हामीलाई भोज खान बोलाउनु हुन्छ,' रासिदले शनिबार कान्तिपुरसँग भने, 'ठूला चाडपर्वले विभिन्न धर्मावलम्बी र समुदायलाई नजिक ल्याउँछन् ।' उनी नेपालगन्जवासी हुन् । रासिदलाई दसैंमा लाग्ने मेला र दुर्गा माताको आकर्षक मूर्ति हेर्न औधी मन पर्छ ।
उनी यही कारणले सपरिवार नेपालगन्ज बजारदेखि नजिकै रामलिला मैदानमा लाग्ने ठूला मेला जान छुटाउँदैनन् । 'म त दसैं मनाउन घर र्फकन लागेको छु,' रासिद भन्छन्, 'परिवारसहित रामलिला हेर्छु, बिजुलीको पोल जस्तो ठूलो खम्बामा दहनका लागि बनाएको कागतको रावण र लंका हेर्न लायकको हुन्छ ।' उनी भन्छन्, 'म त रावण मार्ने कार्यक्रम हेर्न छुटाउँदिन ।'
स्वदेश र विदेशबाट साथीहरू यतिबेलै घर र्फकने हुनाले यो क्षणलाई उनी भेटघाटको अवसरका रूपमा लिन्छन् । 'यति बेला चोक-चोकमा बसेर साथीहरूसँग रमाइलो र हँसीमजाक गर्दाको आनन्द भिन्दै हुन्छ,' उनी भन्छन्, 'परापूर्वकालदेखि कायम यो धार्मिक एकतालाई यही सद्भावले जोगाएको छ, यसको अझ बढी आवश्यक छ ।'
नेपालमा मनाइने हरेक चाडपर्वमा सबै समुदायको उत्तिकै जोस र जाँगरका साथ सहभागिता हुन्छ । 'हरेकको चाडपर्वमा सबै धर्मको सहभागिता र ऐक्यबद्धता संसारमा विरलै देख्न पाइन्छ,' स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्य भन्छन् । उनी बौद्ध धर्मावलम्बी हुन् ।
'अधिकांशले मनाउँछन्, मनाउने तरिका मात्र फरक हो,' उनले भने । बुद्धाचार्यले हिन्दुझैं आठ/नौ दिनसम्म दसैं नमनाउने गरेको
बताए । उनका अनुसार दसैंमा महाअष्टमीको राति सारा परिवार मिलेर 'कुछिभोय' मनाउँछन् । 'यसमा केराको पातमा दुई माना चामल र सबै प्रकारका खाने कुरा राखेर भोज गर्छौं,' उनले भने, 'नवमीका दिन कुल देउतासामु भुइँमा फर्सीको बलि दिएर पूजा गर्छौं ।'
उनले त्यसपछि दसैं सकिने भए पनि स्वयम्भूको शोभा भगवती, भद्रकाली, संकटा र महांकालमा गएर दर्शन र पूजा गरिन्छ । बुद्धाचार्यका अनुसार नेपाली जुनसुकै धर्मसँग आबद्ध भए पनि परम्परादेखि मनाउँदै आएको दसैंलाई छाड्न सक्दैनन् । 'घरमा पाहुना बोलाउँछौं र खुवाउँछौं,' उनले भने, 'यतिखेर छोरी-चेलीलाई डाकेर टीका लगाएपछि भोज खुवाएर बिदा गर्छौं ।' बुद्धाचार्यले अझैं पनि दसैंमा चाबहिलस्थित मामा घरमा गएर रमाइलो गर्न नछुटाउने गरेको बताए ।
धार्मिक सहिष्णुता र म्ािश्रति समाज भएको यो मुलुकमा चाडपर्वहरू सामूहिक रूपले मनाउने हुनाले जात र धर्मको विभाजनले खासै अर्थ राख्दैन । दसैं, तिहार, छठ, इद र सिख समुदायको ठूलो पर्व 'वैशाखी' मा सबै नेपालीको उत्तिकै उपस्थिति देख्न सकिन्छ ।
'यहाँ सबैले सबैको चाडपर्वलाई माया गरेको देखियो, क्रिसमसमा पनि सबै धर्म र जातिको सहभागिता यसको उदाहरण हो,' नयाँबजारको धारा गल्लीस्थित नेपाल प्रेरित चर्चका धर्मगुरु साम पौडेलले भने । उनले टीकाको दिन चर्चमा बिहान १० देखि दिउँसो २ बजेसम्म भेला भएर दसैंको परम्परा, इतिहास, वर्तमान, यसका असल र खराब पक्षबारे छलफल गर्ने गरेको बताए । 'एकआपसमा रकम उठाएर खानपिन गर्दै दसैं मनाउँछौं,' उनले भने । पौडेलले एकले अर्कालाई उत्साह दिने विकृतिमुक्त एवं हिंसामुक्त दसैं मनाउने गरेको बताए । 'चाडपर्वले खुसी साटासाट गर्ने अवसर दिन्छ, यसले प्रेम पनि बढाउँछ,' उनले भने, 'विकृतितिर नजाने हो भने सबै धर्मको सार पनि यही हो ।' उनका अनुसार हरेक चाडपर्वको उद्देश्य एकअर्कालाई नजिक ल्याउने, मिलाउने र सिर्जनशीलताका लागि ऊर्जा बढाउने हो ।

source:kantipur