दसैं मनाउन घर हिंडेका दुईको छतबाट खसेर मृत्यु :

काठमाडौं, आश्विन २७ - दसैंमा घर हिडेका रामेछाप लखनपुरका दुई जना बसको छतबाट खसेर राजधानीको
राष्ट्रिय सभा गृह अगाडि बुधबार मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् । छतमा बसेर यात्रा गरिरहेका यात्रु रुखमा अड्किदा भुइमा खसेका थिए । बुधबार बिहान सबेरै गाडी रिजर्भ गरेर रामेछाप हिडेका उनीहरु सभागृह अगाडिको रुखमा अडकेर भूइँमा खसेको महानगरीय प्रहरी प्रभाग सिंहदरबारका प्रहरी निरिक्षक बीरबहादुर बुढाले जानकारी दिए ।
मृत्यु हुनेमा रामेछाप लखनपुरका इन्द्रबहादुर देवकोटा र सुनिल मोक्तान छन् । उनीहरुको उपचारको क्रममा बिर अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी २१ वर्षिय राजेन्द्र गौतम, १४ वर्षिय रत्नबहादुर भुजेल र  ३५ वर्षिय हेमबहादुर गौतम घाइते भएका छन् । उनीहरुको मोडल र बिएण्डबिमा उपचार भइरहेको छ ।
दशै मनाउन वीर अस्पताल अघिबाट दोलघाट कोशीपारी हुदै रामेछापको लखनपुर हिडेको बा २ ख ६५९४ नम्बरको बसमा ४५ जना यात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरुले रिजर्भ गरेको बसको सिट क्षमता ३४ सिटको मात्रै हो । तीब्र गतिमा गुडेको बसका यात्रु रुखको हाँगामा ठोक्किएको प्रहरी निरिक्षक बुढाले बताए । बुढाका अनुसार लखनपुरका स्थानीयबासी मिलेर बस रिजर्भ गरेका थिए ।  बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी महानगरीय प्रहरी ट्राफिक महाशाखामा राखिएको छ ।
रामेछाप लखनपुर १ घर भएका १८ वर्षिय मृतक देबकोटाका दाजु झक्कुबहादुरले भाई किनमेलका लागि केहि दिन अघि मात्रै काठमाडौं आएको बताए । 'दशैको किनमेलका लागि काठमाडौं आएको हो, चालकको लापरबाहीले भाईको ज्यान गयो' उनले भने । उनीहरुले २० हजार रुपैंयामा गाडी रिजर्भ गरेका थिए । गाडीको प्राविधिक अवस्था समेत कमजोर भएको उनले बताए  । 'गाडी स्टार्ट नभएपछि ठेलेर स्टार्ट गरेका थियौं,' देबकोटाले भने-  'एक छिनको बाटो हिड्न नपाई दुर्घटना भयो, दशैको मुखमा घरमा बुवा आमालाई कुन मुख देखाएर जाने ?' राजेन्द्र गौतमको स्थिती पनि गंभिर रहेको प्रहरीले जनाएको छ ।

source:kantipur