पोखरा, असोज २७ - विश्वकै सबैभन्दा होचा तथा कम तौलका खगेन्द्र थापामगरलाई 'गिनिज बुक अफ दि वर्ल्ड
रेकर्डस्'मा समावेश गर्न पोखरामा बुधबार अन्तिम नापजाँज गरिएको छ। 'गिनिज बुक अफ दि वर्ल्ड रेकर्डस्'को टोलीले बुधबार तीन पटक फेवासिटी अस्पतालमा खगेन्द्रको शारीरिक तथा स्वास्थ्य परीक्षण गरेको हो।
'गिनिज बुक अफ दि वर्ल्ड रेकर्डस्'को टोलीका लागि उक्त अस्पतालका बालरोग विशेषज्ञ डा.हुमप्रसाद न्यौपानेले खगेन्द्रको स्वास्थ्य परीक्षण गरेका हुन्। डा.न्यौपानेले विगत पाँच वर्षदेखि खगेन्द्रको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका थिए।
डा.न्यौपानेका अनुसार खगेन्द्रको शारीरिक बनावट र स्वास्थ्यमा यसअघिको भन्दा कुनै परिवर्तन देखिएको छैन। उनको उचाई ५६ सेन्टिमिटर अर्थात् २२ दशमलव शुन्य ४ इन्च र तौल ५ केजी रहेको छ।
खगेन्द्र थापामगर प्रतिष्ठानक अध्यक्ष मीनबहादुर रानाकाअनुसार गिनिज बुकको टोलीले खगेन्द्रको शारीरिक तथा स्वास्थ्य परिक्षणको अन्तिम रिपोर्ट बुधबारनै लण्डनस्थित 'गिनिज बुक अफ दि वर्ल्ड रेकर्डस्'को कार्यालयमा पठाउने छ। उक्त कार्यालयले अन्तिम समयसम्म विश्वकै सबैभन्दा होचा व्यक्तिको रुपमा कोही कसैको दावी नआएको औपचारिक जवाफ पठाएपछि बिहीबार खगेन्द्रलाई होचा व्यक्ति प्रमाणित गर्दै प्रमाणपत्र दिनेछ।
खगेन्द्र बाग्लुङ, धुल्लुबासकोट-६ मा वि.सं.२०४९ असोज २८ गते बाबु रुपबहादुर र आमा धनमायाको जेठा छोराका रुपमा जन्मिएका हुन्। उनले गतवर्ष असोजमा १७ वर्ष पुरा गरेको नागरिकता लिएका थिए।
नेपाल सरकारले खगेन्द्रलाई सन् २०११ को पर्यटन वर्षका लागि सद्भावना राजदुत घोषणा गरिसकेको छ।
खगेन्द्रको अन्तिम परीक्षण तथा प्रमाणपत्र प्रदान गर्न गिनिज बुकको एक टोली मंगलबार पोखरा आएको हो। गिनिज बुकको टोलीले गत फागुन दोस्रो साता इटालीको रोममा खगेन्द्रको सम्पूर्ण शारीरिक परिक्षण गरेको थियो।
source:nagarik