पन्ध्र मिनेटभित्र सुरक्षा व्यवस्था :

दोलखा, आश्विन २७ - दोलखा प्रहरीले मुख्य सडक र बजार क्षेत्रहरुमा दसै अवधिभर सूचना पाएको पन्द्र मिनेभित्र
सुरक्षा दिने बन्दोवस्त मिलाएको छ ।
चोरी, चन्दा असुली, कुटपीट, हुलदंगा जस्ता घटनालाई न्युनिकरण गर्न सडक, बजार र विगतमा घटना भएका स्थानहरुमा पन्ध्र मिनेट भित्र नै प्रहरी पुग्नसक्ने गरी व्यवस्था मिलाएको हो । दसैंलाई लक्षित गरी रात्री सवारी चल्ने चार क्षेत्रमा थप सुरक्षा चौकी खडा गरिसकेको छ । 'कुनै पनि अप्रिय घटनाको सूचना पाएको पन्ध्र मिनेटमै प्रहरी पुग्ने छ,' प्रहरी नायव उपरीक्षक धिरजप्रताप सिंहले सुरक्षा गस्तीहरु २४ घण्टा परिचालित हुन बताए ।
नागरिकलाई अप्रिय घटनाबाट जोगाउन सदरमुकाम चरिकोटमा डेढसय प्रहरी दिनरात खटाइएको छ । मुख्य बजार जिरी र सिंगटी क्षेत्रमा थप एकसय प्रहरी परिचालित गरिएको छ । सादा पोषाक र हतियारसहितको मोवाइल गस्तीले सूचना पाउनेवित्तिकै घटनास्थलमा सुरक्षा दिन पुग्ने डिएसपी सिंहले बताए । त्यस्तै बैंक, सुनपसल जस्ता चोरी हुने विशेष स्थानहरुमा सुरक्षाको प्रत्याभूति दिने व्यवस्था मिलाइएको छ ।
असोज २५ देखि पुणिर्माको दिनसम्म मुख्य सडक क्षेत्र सुनखानी, जफे, हलहले र चरगेंमा अस्थायी प्रहरी चौकी राखिएको र छुट्टै मोबाइल समुहको पनि व्यवस्था गरेको जिल्ला प्रहरीले जनाएको छ । विगतको अनुभवमा बढी घटना हुनसक्ने गैरीमुदी, काटाकुटी, घ्याङसुकाठोकर लगायत केही स्थानमा थप प्रहरी पलिचालन गरिएको छ ।
जिल्ला प्रहरीले चलाएको विशेष सुरक्षा अभियानमा जिल्लामा भएका चार इलाका र १४ वटा पि्रहरी चौकीहरुलाई प्रशिक्षणसहित परिचालन गरिएको छ । सुरक्षा अभियान अन्तरगत दसैंको बाहनामा चन्दा असुली गर्ने चार जनालाई प्रक्राउ गरिएको, मदिरा सेवन गर्ने हरुलाई घटना हुन नदिन चौकी वा घरमै लगिदिएर विश्राम गराउने गरिएको छ । मदिरा सेवन गर्नेलाई स-सम्मान उद्धारको व्यवस्था मिलाइको भए पनि अरुलाई हानी पुर्‍याउने कार्य गरेको पाइएमा भने कानुन अनुसार कार्वाही गरिने डिएसपी सिंहले बताए ।
'जुवा तास पूर्णतः निषेध गरिएको हुँदा व्यवसायिक रुपमा खेल्ने खेलाउने गरेको पाइएमा कानुन अनुसार कार्वाही गरिने छ ।' डिएसपी सिंहले व्यवसायिक रुपमा जुवा वा तास खेल्ने खेलाउनेलाई कार्वाही गर्न प्रहरी निगरानी बढाइएको बताए ।
 
source:kantipur