मेची राजमार्गमा पहिरो : पाँच गाडी पुरिए, १४ जना बेपत्ता

इलाम, असोज १५- मेची राजमार्गको हर्कटे-हाँसपोखरी खण्डमा पहिरो जाँदा पाँच सवारी पुरिएका छन् ।
कोल्बुङ गाविस-१ मा पर्ने यस ठाउँमा करिब पाँच सय मीटरको पहिरो झरेर सवारी पुरिँदा त्यहाँ रहेका १४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । आइतबार राती आठ बजेतिर झरेको पहिरोले मे १ च १२५६ नम्बरको सेन्ट्रो कार बेपत्ता हुँदा कारमा रहेका फिक्कलका शरण श्रेष्ठ, उनकी श्रीमती, वहिनी-ज्वाईं, छोराछोरीलगायत ८ जना बेपत्ता रहेको घटनास्थलमै रहेका सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि घिमिरेले जानकारी दिए । उनका अनुसार बेपत्ता हुनेमा पाँच भारतीय नागरिक रहेपनि उनीहरुको नाम ठेगाना भने खुल्न सकेको छैन । यस्तै पशुपतिनगरका ११९१ नम्बरको कारका चालक अजित योल्मु पनि बेपत्ता छन् । कारका केही टुक्राहरु भने प्रहरीले फेला पारेको छ । घिमिरेका अनुसार एउट ट्रक र दुई पिकअप, एउटा सेन्ट्रो र अर्काे अल्ट्रोकार पुरिएका हुन् । पुरिएकामध्ये मे १ ज ६८९ र ११९६ नम्बरका दूई पिकअप र को १ ख १६३१ नम्बरको ट्रक राजमार्गका किच्चिएको अवस्थामा छन् । ११९६ नम्बरको पिकअपका सात जनालाई राती नै शसस्त्र प्रहरीले उद्धार गरेको छ । ट्रकमा कति मानिस थिए र उनीहरुको अवस्था के छ भन्ने पत्तो लाग्न नसकेको घिमिरेले जनाए । सवै सवारी झापाबाट इलाम आउँदै गरेका हुन् । ट्रकहरु भने इलाम विब्ल्याँटेका लागि सामान लिएर आउँदै गरेका थिए । पहिरोका कारण इलाम ल्याइएको ३३ केभी प्रशारण लाइनको विद्युतका दुई पोलमा क्षति पुगेपछि इलाम र पाँचथरमै विद्युत अवरुद्ध भएको छ । पहिरोले एउटा पोल ढालेको छ भने एउटा ढल्काएको छ । तारहरु चुट्टिएका छन् । राती करिब साढे १२ बजेदेखि विद्युत नहुँदा सेवाग्राही प्रभावित भएका छन् । हर्कटेमै चट्याङले अर्काे विद्युत पोलमा क्षति गरेको भएपनि विहानसम्म विद्युत प्राधिकरणका कर्मचारी त्यहाँ पुग्न नसकेको स्थानीयले बताएका छन् । पहिरो झरेपछि मेची राजमार्ग अवरुद्ध छ । घटनाको जानकारी पाएपछि फिक्कलस्थित सशस्त्र प्रहरी, जिल्लास्थित सशस्त्रको श्रीअन्तु गुल्म र जिल्ला प्रहरी कार्यालयबाट राती नै प्रहरीको टोली पुगेको छ । तर, राती भने राम्रोसँग उद्धार हुन नसकेपनि विहानैदेखि स्थानीयसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रको टोली उद्धारमा खटेका छन् । झापाको चारआली, इलामको पशुपतिनगर र आइतबारेबाट पनि प्रहरी, नेपाली सेना र सशस्त्रको टोली घटनास्थल पुगेका छन् । कन्यामदेखि कोल्बुङसम्मका दर्जानौस्थानमा पहिरो झरेकाले यातायात सञ्चालनमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

source : nagariknews